२०८२ चैत २३ सोमवार | Monday, Apr 06 2026

लिम्बू समुदायका समाधिस्थल संकटमा

तेह्रथुम । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरूका आफ्नै भाषा, कला, संस्कार र संस्कृति रहेका छन् । त्यस्तै, पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको पनि विशिष्ट परम्परा र जीवनशैली छ । जन्मदेखि मृत्युसम्म आफ्नै मौलिक संस्कार पालना गर्ने यस समुदायमा मृत्युपश्चातको संस्कार झनै महत्वपूर्ण मानिन्छ ।

लिम्बू समुदायमा कसैको मृत्यु भएमा निश्चित समाधिस्थलमा अन्त्येष्टि गर्ने परम्परा रहँदै आएको छ । नेपालमा भूमिसुधार लागू हुनुअघि किपट प्रथामा रहेका लिम्बूहरूले आफ्ना आफन्तको मृत्युपछि सामूहिक समाधिस्थलमै चिहान बनाएर अन्त्येष्टि गर्ने गरेका छन । सम्पन्न परिवारहरूले कपुरथान (पक्की चिहान) निर्माण गर्ने चलन पनि प्रचलित थियो र अझै पनि छ ।

तर पछिल्लो समय यो परम्परा क्रमश: हराउँदै गएको छ। सामूहिक रूपमा अन्त्येष्टि गर्ने चलन कमजोर बन्दै जाँदा निजी जग्गा वा घर नजिकै समाधि बनाउने प्रवृत्ति बढ्दो छ । यसले सिंगो लिम्बू संस्कारमै नकारात्मक असर पार्ने लिम्बू भाषा तथा संस्कृति अभियन्ता दिल पाक्साङवाको भनाइ छ ।

पुस्तौंदेखि प्रयोग हुँदै आएका समाधिस्थलहरूमा अहिले दाहसंस्कारका लागि जग्गा अभाव हुँदै गएको छ । त्यसमाथि सरकारी नीतिगत परिवर्तन, विशेषगरी सामुदायिक वनको अवधारणा लागू भएपछि परम्परागत समाधिस्थलहरू झनै संकटमा परेका छन् ।

लिम्बू पत्रकार संघका संघीय अध्यक्ष सन्देश सुब्बाका अनुसार विभिन्न कारणले निजी जग्गामा अन्त्येष्टि गर्ने चलन बढे पनि यो परम्परागत संस्कारअनुसार उपयुक्त मानिंदैन । समाधिस्थलहरू अहिले संरक्षणको दृष्टिले गम्भीर संकटमा छन् । तीव्र सहरीकरण, निजी स्वामित्वमा जग्गाको अभाव, सरकारी नीतिगत परिवर्तन तथा नयाँ पुस्ताको बेवास्ताले लिम्बू संस्कृतिको यो महत्वपूर्ण पक्ष ओझेलमा पर्दै गएको छ ।

पूर्वी नेपालका तेह्रथुम, धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा लिम्बू समुदायको बाक्लो बसोबास रहेको छ । साथै राजधानी काठमाडौं तथा विदेशमा समेत लिम्बू समुदाय फैलिएको छ। तर सहरमा बसोबास गर्ने नयाँ पुस्ताका धेरै युवाहरू आफ्ना मौलिक संस्कारबारे अनभिज्ञ बन्दै गएका छन् ।

संस्कृति अभियन्ताहरू भन्छन् -यदि अहिले नै जरा समातेर परम्परा संरक्षण गर्ने प्रयास गरिएन भने, लिम्बूहरूको सामूहिक समाधि संस्कार लगायतका मौलिक अभ्यासहरू भविष्यमा केवल किताब र कथामा सीमित हुनसक्छन् ।