काठमाडौं । देशको कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका साथै निर्यात व्यापारमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकला आत्मनिर्भर अर्थतन्त्रको महत्वपूर्ण धरोहर मानिन्छ । स्वदेशी सीप, श्रम र स्वदेशी कच्चा पदार्थमा आधारित हस्तकलामार्फत् स्वदेशमै ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ ।
तर, व्यावसायिक वातावरण अभाव र नीतिगत समस्यालगायतका कारण उद्यमशीलता प्रवद्र्धन हुन नसक्दा हस्तकलाबाट न व्यवसायीले न त देशले नै अपेक्षाअनुसार फाइदा लिन सकेको अवस्था छ । पुख्र्यौली र पम्परागत व्यवसायको विकास हुँदै आएको हस्तकलामा लाग्नेहरूमा नाम, दाम र भविष्य छैन भन्ने व्यापक गुनासो छ । सोही कारण रोजगारीका नाममा युवा पलायनले हस्तकलामा पुस्तान्तरण चुनौतीपूर्ण बन्दै गएको छ । पुस्तान्तरण हुन नसक्दा कतिपय हस्तकला हराएर गएका छन् भने कतिपय लोपोन्मुख अवस्थामा पुगेका छन् । पुस्तान्तरण नहुँदा पुरानो पुस्तापछि हस्तकला पनि लोप हुने हो कि भन्ने चिन्ता बढेर गएको छ ।
निर्यात व्यापारको सुरुवात नै हस्तकलाबाट भएको थियो । तर, दुःखको कुरा, अझै नेपाली हस्तकलाको ब्राण्डिङ हुन सकेको छैन । न त प्याकेजिङ व्यवस्थापन नै हुन सकेको देखिन्छ । निर्यातमूलकमात्रै नभई नेपाली कला संस्कृतिको धरोहरका रूपमा रहेको हस्तकलाको छुट्टै नीति बनाएर प्रवद्र्धनमा जोड दिनुपर्नेमा नीतिसमेत छैन ।
नेपालको निर्यात व्यापारको सुरुवात नै हस्तकलाबाट भएको थियो । तर, दुःखको कुरा, अझै नेपाली हस्तकलाको ब्राण्डिङ हुन सकेको छैन । न त प्याकेजिङ व्यवस्थापन नै हुन सकेको छ । निर्यातमूलकमात्रै नभई नेपाली कला संस्कृतिको धरोहरका रूपमा रहेको हस्तकलाको छुट्टै नीति बनाएर प्रवद्र्धनमा जोड दिनुपर्नेमा नीतिसमेत छैन ।
वर्तमान अवस्था
नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यका अनुसार हाल हस्तकला उद्योग व्यवसायले प्रत्यक्ष र अप्रत्यक्षरूपमा झण्डै ११ लाख व्यक्तिहरूलाई रोजगारी प्रदान गरिरहेको छ भने अधिकांश महिला वर्ग, जनजाति एवं आदिवासी र सिमान्तकृत समुदायको अर्थोपार्जनको आधार पनि हस्तकला उद्योग व्यवसाय रहेको छ । वार्षिकरूपमा २७ अर्ब हाराहारी भारत, चीनलगायत तेस्रो मुलुकमा हस्तकलाजन्य वस्तु निर्यात हुँदै आएको छ । हाल ३६ विधाअन्तर्गत ८२ प्रकारका हस्तकलाका वस्तु महासंघबाट सूचीकृत भएका छन् ।
हस्तकला नेपालको सांस्कृतिक पहिचान बोकेको मौलिक उद्योग व्यवसाय हो । देशका सातवटै प्रदेशमा महासंघको पहुँच रहेको छ भने हस्तकलासम्बन्धी विभिन्न संघ संस्था, उद्यमी, कलाकार, कालीगढ गरी चार हजार पाँच सय सदस्यहरू महासंघमा आबद्ध रहेका छन् । नेपालको निर्यात प्रवद्र्धनमा महत्वपूर्ण योगदानस्वरूप महासंघतर्फबाट अध्यक्षलाई सरकारले महत्वपूर्ण व्यावसायिक व्यक्ति(सिआइपी) सम्मानसमेत गरेको छ । हस्तकला उद्योग व्यवसाय र पर्यटन उद्योग व्यवसायबीच अन्तरनिर्भरता रहकाले नेपालको पर्यटन क्षेत्रको विकासमा हस्तकला क्षेत्रको उल्लेखनीय योगदान रहेको छ । स्वरोजगारी सिर्जना, घरेलु तथा साना उद्योगको क्षेत्रमा उद्यमशीलता विकास, स्टार्टअप उद्योग व्यवसाय स्थापना र महिलाको आयआर्जन एवं जीविकोपार्जनमा पनि हस्तकलाले महत्वपूर्ण योगदान गरिरहेको छ ।
तुलनात्मक लाभको क्षेत्र
हस्तकला अन्य व्यवसायभन्दा बढी तुलात्मक लाभको व्यवसाय मानिन्छ । किनभने थोरै पुँजी, स-सानो यन्त्र, औजार र प्रविधि प्रयोग गरी स्थानीय श्रम, सीप एवं कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न सकिन्छ । देशभर कृषिजन्य उद्योग व्यवसायपछि विस्तार हुन सक्ने ठूलो सम्भावना बोकेको उद्योग व्यवसाय हस्तकला हो ।
नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने, वैदेशिक रोजगारी निरुत्साहित गरी स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने ठूलो सम्भावना बोकेको क्षेत्र हस्तकला अन्तर्राष्ट्रियस्तरमा आर्थिक तथा कूटनीतिक सम्बन्ध विस्तारको माध्यमसमेत बन्दै आएको छ । महासंघ अन्तर्राष्ट्रिय क्षेत्रमा कला तथा शिल्पको संरक्षणमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था विश्व कला परिषद्(वल्र्ड क्राफ्टा काउन्सिल) को सन् १९९१ देखि सदस्य रहेको छ भने २०७३ वैशाखमा उक्त संस्थाको एसिया तथा प्रशान्त क्षेत्रको सम्मेलन यस महासंघको संयोजनमा काठमाडौंमा आयोजना गरिएको थियो । त्यसैगरी फ्रान्सको पेरिस शहरमा मुख्य कार्यालय रहेको इन्टरनेसनल चेम्बर अफ कमर्स(आइसिसी) को पनि महासंघ सदस्य रहेको छ ।
पुख्र्यौली र परम्परागत व्यवसाय भएका कारण नेपाली हस्तकला क्षेत्रमा अन्य उद्योग व्यापार सञ्चालन गर्ने औद्योगिक घरानाहरूको जस्तो व्यवस्थापन छैन, धेरैजसो हस्तकला व्यवसायीहरूमा साधन स्रोतको कमी वा सोसम्बन्धी ज्ञानको कमी देखिन्छ । सीप छ तर सीप प्रवद्र्धनको ज्ञान छैन, पहुँच छैन । ठूला औद्योगिक घरानाहरूको जस्तो हाइफाइ गर्न नजान्दा पनि हस्तकला व्यवसायी पछि परेका छन् । हस्तकला क्षेत्रको उल्लेखित चरित्रका कारण पनि हस्तकलाजन्य उद्योग र विदेशी अर्बांै लगानीका सिमेन्ट, डण्डी, चाउ चाउ, बिस्कुटजस्ता उद्योग व्यवसायलाई एउटै डालोमा राखेर नीति बनाइनु न्यायोचित हुन सक्दैन ।
यसै सन्दर्भमा महासंघ अध्यक्ष शाक्य भन्नुहुन्छ, ‘नेपालका धेरैजसो उद्योगहरू आयातित कच्चा पदार्थमा आधारित छन् । तर, हस्तकला भनेको विशुद्धरूपमा आफ्नै कच्चा पदार्थ, स्वदेशी प्रोडक्ट, स्वदेशी हात, स्वदेशी सीप र स्वदेशी रोजगारसँग जोडिएको क्षेत्र हो । हस्तकला भनेको ‘मेक इन नेपाल’, ‘मेड इन नेपाल’ भन्दा पनि माथिको विधा हो तर सरकारले हस्तकलाभन्दा व्यापारिक संगठनहरूको कुरा बढी सुन्छ ।
किनभने त्यहाँ पनि ‘गिभ टेक’ को कुरा होला । बढी राजस्व र रोजगारीमा योगदानको कुरा हेरिएला ? यहींनिर हामी चुकेजस्तो लाग्छ । आयातित कच्चा पदार्थ नै प्रयोग भएको किन नहोस्, हस्तकलाभन्दा बढी निर्यात गर्ने र बढी रोजगारी दिने क्षेत्रहरू पनि छन्, उनीहरूले सबैतिर पहुँच पनि बनाएका छन्, बोल्न सक्छन्, परेको खर्च पनि गर्न सक्छन् । उनीहरूको कुरा छिटो सुनुवाइ पनि हुन्छ । तथापि आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्ने, नेपाल र नेपालीको पहिचान, कल्चर, हेरिटेजको कुरा गर्ने हो भने फेरि हस्तकला नै अगाडि हुन्छ । राज्यले त्यो कोणबाट पनि हेर्नुपर्छ ।’
वास्तवमा, पूर्णरूपमा आयातित कच्चा पदार्थमा आधारित पाम आयल, सोयाबिन आयलजस्ता वस्तुको निर्यातबाट देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सक्दैन । त्यसैले स्वदेशी श्रम, सीप र स्वदेशी कच्चा पदार्थमा आधारित हस्तकला प्रवद्र्धनको विकल्प छैन । त्यसका लागि सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई उच्च प्राथमिकता दिनुपर्छ ।
सोही मान्यतासाथ नेपाल हस्तकला महासंघले विगत एक दशकअघि नै हस्तकलाको छुट्टै नीतिका लागि पहलकदमी लिएको थियो । तर, त्यसले अझै सार्थकता पाउन सकेको छैन । त्यसैगरी हस्तकला दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्नुपर्ने माग पनि अधुरै रहेको छ । महासंघले भने हरेक वर्ष मंसिर २८ गतेलाई हस्तकला दिवसका रूपमा मनाउँदै आएको छ ।








































