२०८३ वैशाख १ मंगलवार | Tuesday, Apr 14 2026

राहत माग्दै मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षणपत्र

जनकपुरधाम । तराई मधेशका जिल्लामा पर्याप्त वर्षा नभएका कारण धेरैजसो खेतीयोग्य ठाउँहरुमा किसानले धान रोपाइँ गर्न नसकेको भन्दै किसानलाई राहत उपलब्ध गराउन माग गर्दै विपक्षीदलले मुख्यमन्त्री सतिशकुमार सिंहलाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

जसपा–नेपाल मधेश प्रदेश संसदीयदलका नेता तथा पूर्व मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा शुक्रबार मुख्यमन्त्री कार्यालय पुगेका विपक्षीदलका प्रतिनिधिहरु सम्मिलित संयुक्त टोलीले मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

मधेश प्रदेशमा खडेरी परेर आमनागरिकलाई खानेपानीको अभावको सँगसँगै किसानले खेत रोपन नपाएर खाद्यान्न संकट उत्पन्न हुनसक्ने अवस्था हुँदा पनि प्रदेश सरकार गैर जिम्मेवार ढंगबाट अघि बढिरहेको भन्दै किसानको समस्या समाधान गर्न आफूहरुले ध्यानाकर्षण गराएको राप्रपाकी कञ्चन विच्छाले बताउनुभयो ।

ध्यानाकर्षणपत्रमा सुख्खाग्रस्त क्षेत्रहरूमा तत्काल सिँचाइको प्रबन्ध मिलाउनुपर्ने, विपद् संकटग्रस्त क्षेत्रका किसानहरूलाई कृषि ऋणमा छुट दिलाउन संघीय सरकारलाई अनुरोध गर्ने कार्य समेटिएको छ ।

ध्यानाकर्षणपत्र बुझाउन प्रमुख प्रतिपक्षी दल जसपा नेपालका संसदीय दलका नेता यादव सहित नेकपा माओवादी केन्द्रका युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका मनिष पटेल, राप्रपाका कञ्चन बिच्छा र नेपाल संघीय समाजवादीकी विमला अंसारी तरन्नुम सहितका रहनु भएको थियो  ।