२०८२ चैत २४ मंगलवार | Tuesday, Apr 07 2026

तमू पत्रकारिता पुरस्कारबाट छ जना पत्रकार सम्मानित

काठमाडौ। तमू (गुरुङ) संचारकर्मी सङ्घ नेपालले ६ जना पत्रकारलाई सम्मान गरेको छ। हरेक वर्ष तमू ल्होसारको अवसरमा प्रदान गर्ने पत्रकारिता पुरस्कार बुधबार वितरण गरिएको हो।

संचारकर्मको विभिन्न विधामा सक्रिय सञ्चारकर्मीलाई सम्मान प्रदान गरिएको हो। पूर्व प्रधानसेनापति छत्रमान सिंह कमला गुरुङ पत्रकारिता  पुरस्कारबाट एबीसी टेलिभिजन स्याङ्जाका संवाददाता धनबहादुर गुरुङ सम्मानित हुनुभएको छ।  गैर गुरुङतर्फबाट कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्यामकृष्ण श्रेष्ठ पुरस्कृत हुनुभएको छ।

त्यस्तै भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट नेपाल टेलिभिजन इटहरी च्यानलका प्राविधिक रविन गुरुङ सम्मानित हुनुभएको छ भने ‘तमू ल्होसार’ मूल आयोजक पत्रकारिता पुरस्कारबाट रेडियो सगरमाथाका  इच्छा गुरुङ पुरस्कृत हुनुभएको छ।

यसैगरी आदिकवि हर्कबहादुर गुरुङ पत्रकारिता पुरस्कारबाट रेडियो मर्स्याङ्दीका तमू भाषा समाचार सम्पादक खुशीमाया गुरुङ  पुरस्कृत हुनुभएको छ। लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार सुनौलो नेपालकी संवाददाता सूचना गुरुङले प्रप्त गर्नुभएको छ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेसम गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गुरुङ समुदायले यस वर्षभित्र प्राप्त गरेका उपलब्धि समेटेर प्रकाशन गरिने गुरुङ वार्षिक मुखपत्र ‘गुरुङ न्युज डटकम’ विमोचन भएको छ।