२०८३ जेठ १२ मंगलवार | Tuesday, May 26 2026

रारामा पाहुना चराहरुको संख्या बढ्यो

मुगु। मुगुको रारा तालमा पाहुना चराहरुको संख्या गत वर्षभन्दा यस वर्ष बढेको छ ।

समुन्द्री सतहबाट दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालमा भारत, मानसरोबर ,साईबेरिया लगायतका विभिन्न खाडी मुलुकबाट दर्जनौं प्रजातिका चराहरु यस वर्ष बढेका छन् ।

चराविद्हरुका अनुसार रारामा पाइने चराहरु साइबेरिया लगायत विभिन्न देशहरुबाट मंसिर महिनाबाट आउन शुरु गर्छन् ।

यस वर्ष माघबाट हिउँ परेको हुँदा हिजोआज धमाधम हाँस, जलेवा, काला, खैरा, पहेलालगायत फरक फरक रंग भएका धेरै चराहरु रारामा देखिने गरेका छन् ।

ती  चराहरु बैशाख महिनासम्म रारामा बस्ने त्यसपछि गर्मी बढेपछि मानसरोबर, साइबेरिया जाने गरेका छन् । यस वर्ष पुस महिनामा रारामा डुङ्गा नचल्दा, मानिसहरुको आगमन कम हुँदा पाहुना चरा बढेको स्थानीयको भनाइ छ ।

रारा राष्ट्रिय निकुञ्जको रेकर्ड अनुसार बिगतका बर्षमा रारा तालमा रमाउने पाँच प्रजातिका तीन सय ४२ हाँसहरु रहेको देखिन्छ भने यसबर्ष चरा गणना अनुसार १५ प्रजातिका हाँस पाँचसय भन्दा बढी भेटिएको पाइन्छ ।

विशेषगरी राराको मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर, आर्मी ब्यारेक क्षेत्रमा बढी हाँसहरु भेटिने गरेका छन् । रारामा विशेषगरी कमन कुट, खोया हाँस, मलाट हाँस, काले, खैरो, पहेले रङ्खका हाँसहरु रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।