२०८२ चैत २७ शुक्रवार | Friday, Apr 10 2026

धार्मिक अनुष्ठान र औषधीमा प्रयोग गरिने रुख दाउरामा प्रयोग

गौर । धार्मिक अनुष्ठानदेखि लिएर औषधी निर्माणमा प्रयोग हुने पीपल, बर, पाकडलगायतका रुख दाउरामा प्रयोग हुन थालेपछि गाउँघरबाट लोप हुँदै गएको छ ।

गाउँ घरमा सार्वजनिक तथा निजी जग्गामा रहेका पाकड, पीपल, बरलगायतका रुख खरिद गरी इँटा उत्पादनमा प्रयोग गर्न थालेपछि आदिकाल देखि  धार्मिक सहिष्णुता, आस्थाका प्रतीक मान्ने एवं पूजा पाठ, हवन देखि औषधी निर्माणमा प्रयोग हुने लगायतका धार्मिक अनुष्ठानमा प्रयोग हुने यी रुखहरू गाउँघरबाट हराउन थालेका छन् ।

पीपलको रुखमा प्रत्येक शनिबार जल चढाउनाले शनि ग्रहबाट ग्रसित मानवको दुःख, कष्ट समाप्त हुनुको साथै सुखमय जिन्दगी तथा धन आयु प्राप्त हुने पुरोहित पवन मिश्र बताउनुहुन्छ । उहाँले पूजा पाठ तथा हवन आदिमा पीपल, बर, पाकड लगायतका पंचपल्लवमा प्रयोग हुने गरेको बताउँदै पुरोहित मिश्रले अहिले कतिपय ठाउँमा यी जातका दाउराहरूको अभावमा मात्र एक दुई वटा रुखको हाँगा प्रयोग गरी पूजा पाठ यजमानहरूले भन्ने जस्तै गर्ने गरेको बताउनुभयो ।

धार्मिक अनुष्ठानमा प्रयोग हुनुको साथै यी जातका रुखहरूका हाँगा र रसबाट विभिन्न किसिमका आयुर्वेदिक औषधी निर्माण हुने गरेको तथा ती औषधी प्रयोग गर्नाले विभिन्न रोग निको हुने गरेको आयुर्वेदिक चिकित्सक श्यामसुन्दर यादव बताउनुहुन्छ ।

पूजापाठदेखि लिएर औषधी निर्माणमा प्रयोग हुने यी जातका रुखहरू दाउरामा प्रयोग हुनु अति नै दुःखदायी रहेको तथा खास गरी यस्ता प्रजातिका रुखहरू सार्वजनिक स्थल ,मठ मन्दिरमा पाइने गरेको समाजसेवी अर्का पण्डित सुनिलकान्त झााले  बताउनुभयो ।

पहिला घर नजिक रहेको पीपलको रुख कटान भएपछि अहिले एक किलोमिटर टाढा गएर पीपलको रुखमा पूजापाठ गर्न जानुपर्ने बाध्यता रहेको सवितादेवीले बताइन । उहाँले यस्तो महत्त्व रहेका प्रजातिको रुख कटानै गर्नुपर्ने बाधयता रहे त्यसको साटो पुन, त्यो प्रजातिको बोट लाग्नुपर्ने बताइन ।

गाउँघरमा पाइने यी जातका रुखहरू अत्यधिक मात्रामा कटान हुनाले वातावरणमा समेत असर पर्ने गरेको साथै आदि कालदेखि धर्मिक ,संस्कृति एवं आस्था र विश्वासको प्रतीक मान्ने रुखहरू दिनानुदिन विनाश हुनुप्रति दुःख व्यक्त गर्दै स्थानीय बुद्धिजीवी श्रवणकुमार झाले धरोहरको रूपमा चिनिदैँ आएका यी रुखहरूलाई जोगाउन तर्फ सबैले लाग्नुपर्ने बताउनुभयो ।