२०८२ चैत ३० सोमवार | Monday, Apr 13 2026

राजर्षि जनक विश्वविद्यालय गुणस्तरीय बन्छ: प्रधानमन्त्री ओली

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षि जनक विश्वविद्यालय गुणस्तरीय शिक्षाको हव हुने बताउनुभएको छ । यस विद्यालयको कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले  मङ्गलवार जनकपुरधाममा आयोजित राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै सरकारले लक्ष्यअनुसार काम गर्ने र विश्वविद्यालय गुणस्तरीय बनाउने प्रतिबद्धता जनाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले ज्ञान र दर्शनको महत्त्वपूर्ण केन्द्र मानिने यस विश्वविद्यालयमा पहिलो पटक दीक्षान्त समारोह हुनुले यस क्षेत्रको पिछडोपनलाई सङ्केत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शासकीय स्वार्थीपन, अव्यवस्था र कु–व्यवस्थाका कारण यो ठाउँ पछि परेको थियो, तर अब वास्तविक लोकतन्त्रको अभ्यास गर्दै अघि बढ्ने छौँ ।”

उहाँले विश्वविद्यालयको नाम राजर्षि जनकबाट नामकरण हुनु ऐतिहासिक महत्त्व राख्ने उल्लेख गर्दै, यस विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरूले विश्वका कुनै पनि नागरिकसँग प्रतिस्पर्धा गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीको यो प्रतिबद्धता र विश्वविद्यालयका विद्यार्थीप्रति उत्साहजनक दृष्टिकोणले आगामी दिनमा क्षेत्रीय विकास र शैक्षिक उन्नतिमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।