यस वर्ष सन् २०२६ का लागि नोबेल पुरस्कार घोषणा गरिएको छ । हरेक वर्ष अक्टोबर महिनामा पुरस्कार घोषणा गरिन्छ । डिसेम्बर १० मा पुरस्कार वितरण हुन्छ । यो पुरस्कार छ वटा विधा– चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्रमा दिइन्छ । पुरस्कार घोषणा र वितरण अवधिमा विश्वभरका बौद्धिक समुदाय, वैज्ञानिक र सर्वसाधारणको ध्यान स्विडेनको स्टकहोम र नर्वेको ओस्लोतर्फ केन्द्रित हुने गर्छ ।
नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित र सम्मानित अन्तर्राष्ट्रिय पुरस्कार हो । यो पुरस्कार पाउने व्यक्ति तथा संस्था विश्वमै सम्मानित हुन्छन् । स्विडेनका वैज्ञानिक अल्फ्रेड नोबेलले सन् १८९५ मा आफ्नो अथाह सम्पत्तिबाट अक्षयकोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभएको हो । त्यसपछि सन् १९०१ देखि विभिन्न विधामा उत्कृष्ट व्यक्ति तथा संस्थालाई नोबेल पुरस्कार दिन थालियो । सुरुमा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तिका लागि यो पुरस्कार दिने व्यवस्था गरिएको थियो । सन् १९६८ देखि अर्थशास्त्रमा समेत यो पुरस्कार दिन सुरु गरिएको हो ।
वैज्ञानिक तथा उद्योगपति नोबेलको इच्छापत्र अनुसार सन् १९०१ देखि सुरु भएको यो पुरस्कारले मानव कल्याणका लागि असाधारण योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मानित गर्दै आएको छ । यद्यपि यो पुरस्कार घोषणा र वितरणमा भने हरेक वर्ष प्रश्न उठ्ने गर्छ– नोबेल पुरस्कार वितरण कति निष्पक्ष र न्यायोचित छ ? के यसले साँच्चै विश्वभरका योग्य प्रतिभाहरूलाई समेट्न सकेको छ कि यो कुनै खास भूगोल, लिङ्ग वा राजनीतिक विचारधाराको घेराभित्र सीमित छ ?
यस पटक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने दाबी गर्नुभयो । विश्वमा शान्ति कायम गर्न आफूले आठ वटा युद्ध रोकेर असाधारण काम गरेको उहाँको दलिल थियो तर उहाँले नोबेल शान्ति पुरस्कार पाउनुभएन ।
छनोट प्रक्रिया
नोबेल पुरस्कारको निष्पक्षतालाई बुझ्न पहिलो चरणमा यसको जटिल र गोप्य छनोट प्रक्रिया हेर्नुपर्ने हुन्छ । यो कुनै एक व्यक्ति वा संस्थाको तदर्थ निर्णयका भरमा बाँडिँदैन । यसको एउटा स्थापित र कडा संयन्त्र छ । कुरा के छ भने नोबेल कमिटीले आफैँ कसैलाई पुरस्कारका लागि छान्दैन । प्रत्येक वर्ष विश्वभरका विश्वविद्यालयका प्राध्यापकहरू, अघिल्ला नोबेल विजेताहरू, राष्ट्रिय एसेम्बलीका सदस्यहरू र अनुसन्धान संस्थानहरूबाट गोप्य रूपमा मनोनयनहरू आह्वान गरिन्छ ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेज, क्यारोलिन्स्का इन्स्टिच्युट, स्विडिस एकेडेमी र नर्वेजियन नोबेल कमिटी जस्ता उच्च बौद्धिक संस्थाहरूले प्राप्त मनोनयनहरूको सूक्ष्म मूल्याङ्कन गर्छन् । कुन व्यक्ति वा संस्था कसरी छानियो वा कसले कसलाई मनोनयन गरेको थियो भन्ने विवरण ५० वर्षसम्म गोप्य राखिन्छ । यस नियमले छनोटकर्ताहरूलाई तत्कालीन दबाब र प्रभावबाट मुक्त भएर स्वतन्त्र निर्णय गर्न सघाउँछ ।
प्राविधिक र प्रक्रियागत रूपमा यो प्रणाली निकै व्यवस्थित देखिन्छ । विज्ञानका विधाहरूमा (भौतिक, रसायन र चिकित्सा) गरिएका कैयौँ आविष्कार अकाट्य र मानव जीवनलाई आमूल परिवर्तन गर्ने खालका हुन्छन्; जसमा संशय गर्ने ठाउँ कम हुन्छ तर निष्पक्षता केवल प्रक्रियामा मात्र होइन; यसको परिणाम र प्रतिनिधित्वमा पनि झल्किनु पर्छ । यही विन्दुबाट नोबेल पुरस्कारमाथि प्रश्नहरू उठ्न सुरु हुन्छन् ।
चुनौती र विवाद
नोबेल पुरस्कारको सवा सय वर्षभन्दा लामो इतिहासमा कैयौँ यस्ता निर्णय भएका छन्, जसले यसको न्यायोचितता र निष्पक्षतामाथि प्रश्न उठ्ने गरेका छन् । यस पुरस्कारको इतिहास हेर्दा यो अत्यधिक मात्रामा पश्चिमी मुलुक, विशेष गरी अमेरिका र युरोपमा केन्द्रित देखिएको छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिका जस्ता विशाल भूगोल र जनसङ्ख्या भएका क्षेत्रबाट वैज्ञानिक अनुसन्धान र वैश्विक प्रभावका कामहरू हुँदाहुँदै पनि तिनीहरू ओझेलमा पर्ने गरेका छन् । पुरस्कार दिने संस्था स्विडेन र नर्वेमा हुनु र छनोटकर्ता अधिकांश युरोपेली मानसिकताका हुनुले कतै यो पुरस्कार ‘ग्लोबल’ नभएर ‘वेस्टर्न’ मात्र त भइरहेको छैन भन्ने प्रश्न उठ्छ ।
सन् १९०१ देखि अहिलेसम्म नोबेल पुरस्कार पाउनेमा महिलाको सङ्ख्या अत्यन्तै न्यून छ । कुल विजेतामध्ये महिलाको हिस्सा १० प्रतिशतको आसपास मात्रै छ । विज्ञान र साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिने कैयौँ महिला वैज्ञानिक इतिहासमा पुरुष सहकर्मीको छायामा पारिएका छन् । डिएनएको संरचना पत्ता लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने रोजालिन्ड फ्य्राङ्कलिन र आणविक विखण्डनको खोज गर्ने लिज माइट्नर जस्ता दिग्गज महिला वैज्ञानिकलाई नोबेल पुरस्कारबाट वञ्चित गरियो, जबकि उहाँहरूका पुरुष सहकर्मी पुरस्कृत भए ।
विज्ञानका आविष्कारहरूलाई प्रयोगशालामा परीक्षण गर्न सकिन्छ तर शान्ति र साहित्य नितान्त सापेक्षिक र भावनात्मक विषय हुन् । विशेष गरी नोबेल शान्ति पुरस्कार सबैभन्दा बढी विवादित बन्ने गरेको छ । कतिपय अवस्थामा शान्ति स्थापना भइनसक्दै वा राजनीतिक दाउपेचका आधारमा पुरस्कार घोषणा गरिएका छन् । अहिंसाका प्रतिमूर्ति महात्मा गान्धीलाई पाँच पटकसम्म मनोनयन गरिए पनि पुरस्कार दिइएन ।
पुरस्कारको सीमा
अल्फ्रेड नोबेलको नियम अनुसार जीवित व्यक्तिलाई मात्र पुरस्कार दिन सकिन्छ (केही विशेष अपवादबाहेक) र कुनै पनि विधामा एक वर्षमा बढीमा तीन जनालाई मात्र संयुक्त रूपमा पुरस्कार बाँड्न सकिन्छ । आधुनिक विज्ञान सामूहिक प्रयासमा आधारित हुन्छ । एउटै ठुलो परियोजनामा सयौँ वैज्ञानिकले काम गरिरहेका हुन्छन् । यस्तो अवस्थामा केवल तीन जनालाई मात्र छानेर पुरस्कृत गर्दा बाँकी टोलीमाथि अन्याय हुन्छ । कतिपय अवस्थामा महत्वपूर्ण खोज गर्ने वैज्ञानिकको मृत्यु पुरस्कार घोषणा हुनुअघि नै भएमा उनले ऐतिहासिक कदर पाउँदैनन् ।
निष्पक्षताको भिन्नता
यो नोबेल पुरस्कारलाई एउटै डालोमा राखेर मूल्याङ्कन गर्न भने मिल्दैन । विज्ञान (भौतिक, रसायन, चिकित्सा) तर्फको पुरस्कार तुलनात्मक रूपमा बढी वस्तुनिष्ठ, तथ्यपरक र निष्पक्ष हुन्छ । पेन्सिलिनको खोज, एक्सरे वा कोभिड–१९ विरुद्धको एमआरएनए भ्याक्सिन प्रविधि जस्ता खोजहरूलाई कसैले पनि पक्षपातपूर्ण भन्न सक्दैन तर साहित्य र अर्थशास्त्रमा भने वैचारिक द्वन्द्व प्रस्ट देखिन्छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रायः बजारवादी वा पुँजीवादी सिद्धान्तलाई बढी प्रश्रय दिने खालको हुने गरेको आरोप वामपन्थी चिन्तकले लगाउने गर्छन् । साहित्यतर्फ पनि स्विडिस एकेडेमीको भित्री राजनीतिका कारण कतिपय विश्वप्रसिद्ध लेखक यो पुरस्कारबाट वञ्चित भए भने कतिपय कम चर्चित युरोपेली लेखकले सहजै पुरस्कार पाएका छन् ।
बदलिँदो विश्व परिवेश
विश्व अहिले बहुध्रुवीय भइसकेको छ । ज्ञान, विज्ञान र चेतनाको केन्द्र अब केवल पश्चिमा मुलुक मात्र रहेनन् । चीन, भारत, दक्षिण कोरिया, ब्राजिल, दक्षिण अफ्रिका जस्ता विकासोन्मुख राष्ट्रबाट नयाँ प्रविधि, अनुसन्धान र मानवतावादी आन्दोलन भइरहेका छन् । यस्तो अवस्थामा नोबेल कमिटीले आफ्नो पुरातनवादी सोच र युरोकेन्द्रित घेराबाट बाहिर निस्कन आवश्यक छ ।
पछिल्ला केही वर्षमा नोबेल कमिटीले आफ्ना कमजोरीहरू सुधार्ने प्रयास नगरेको भने होइन । विविधतालाई आत्मसात् गर्दै महिला, रैथाने समुदाय र विभिन्न महादेशका प्रतिभालाई समेट्ने प्रयास बिस्तारै बढ्दै गएको देखिन्छ । साहित्य र शान्तितर्फ पनि गैरपश्चिमा मुलुकका आवाजलाई स्थान दिन थालिएको छ ।
निष्कर्ष
अन्ततः नोबेल पुरस्कार शतप्रतिशत त्रुटिरहित, पूर्ण निष्पक्ष र सधैँ न्यायोचित छ भन्न सकिँदैन । मानवद्वारा सञ्चालित र भूराजनीतिको प्रभाव रहने जुनसुकै संस्थामा केही न केही पूर्वाग्रह र कमजोरी हुनु स्वाभाविक हो । यद्यपि यसका कैयौँ विवाद र ऐतिहासिक त्रुटि भए पनि नोबेल पुरस्कारले आजसम्म मानव चेतना, वैज्ञानिक प्रगति र विश्वशान्तिको मार्गमा जुन स्तरको उत्प्रेरणा जगाएको छ; त्यसको अर्को विकल्प बन्न सकेको छैन ।
यो नोबेल पुरस्कारको गरिमालाई अझ उँचो बनाउने हो भने यसको छनोट प्रक्रियालाई अझ बढी समावेशी, पारदर्शी र वैश्विक बनाउनु अपरिहार्य छ । भूगोल, लिङ्ग र राजनीतिक विचारभन्दा माथि उठेर साँच्चै मानव कल्याणका लागि समर्पित प्रत्येक कुनाका प्रतिभाले यसमा आफ्नो न्यायोचित स्थान पाउनु पर्छ । तब मात्र अल्फ्रेड नोबेलको वास्तविक सपना साकार हुने छ र यस पुरस्कारको निष्पक्षतामाथि विश्वले गर्व गरिरहन सक्ने छ ।
नाभी पिल्लाई
सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी कानुनविद् तथा पूर्वअन्तर्राष्ट्रिय मानव अधिकार प्रमुख नाभानेथम ‘नाभी’ पिल्लाईलाई प्रदान गर्ने निर्णय भएको छ ।
नर्वेको ओस्लोस्थित नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा यो पुरस्कार घोषणा गर्यो । शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्धन तथा मानव अधिकार र न्यायका लागि गरेको आजीवन योगदानको सम्मानस्वरूप नाभी पिल्लाईलाई यो पुरस्कार दिने निर्णय गरिएको हो । उहाँ दक्षिण अफ्रिकाका एक प्रख्यात कानुनविद्, न्यायाधीश तथा मानव अधिकारवादी हुनुहुन्छ । उहाँले रङ्गभेदविरुद्धको आन्दोलनदेखि अन्तर्राष्ट्रिय अदालतसम्म न्यायका लागि सङ्घर्ष गर्दै आउनुभएको छ ।

नाभी पिल्लाईको जन्म सन् १९४१ को सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकाको डर्बन सहरमा एक सामान्य तमिल मूलको परिवारमा भएको थियो । उहाँले दक्षिण अफ्रिकाको नेटाल विश्वविद्यालयबाट बिए र एलएलबीसम्मको अध्ययन पूरा गर्नुभयो । उहाँले प्रतिष्ठित हार्वर्ड ल स्कुलबाट कानुनमा स्नातकोत्तर र विद्यावारिधि गर्नुभएको छ । हार्वर्डबाट कानुनमा ‘डक्टर भिड्री’ पाउने उहाँ पहिलो दक्षिण अफ्रिकी हुनुहुन्छ ।
सन् १९६७ मा उहाँ दक्षिण अफ्रिकाको नेटाल प्रान्तमा आफ्नै ल फर्म खोल्ने पहिलो गैरश्वेत महिला बन्नुभयो । रङ्गभेदको समयमा उहाँले नेल्सन मन्डेलालगायतका थुप्रै राजनीतिक बन्दी र रङ्गभेदविरोधी कार्यकर्ताका पक्षमा अदालतमा बहस गर्नुभयो ।
उहाँले रोबेन टापुमा थुनिएका राजनीतिक बन्दीका लागि कानुनी वकिल पाउनुपर्ने अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घद्वारा गठित रुवान्डा आमनरसंहारसम्बन्धी अदालतको न्यायाधीश बन्नुभयो । त्यहाँ बलात्कारलाई आमनरसंहारको एक हतियार र मानवताविरुद्धको अपराधका रूपमा परिभाषित गर्ने ऐतिहासिक फैसला सुनाउन उहाँले नेतृत्व गर्नुभयो । सन् २००३ देखि २००८ सम्म उहाँले नेदरल्यान्ड्सको दी हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतको अपिल च्याम्बरको न्यायाधीशका रूपमा पनि काम गर्नुभयो । उहाँ सन् २००८ देखि २०१४ सम्म संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख बन्नुभयो । उहाँ हाल राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन आयोग (प्यालेस्टाइन र इजरायलसम्बन्धी) को अध्यक्ष तथा अन्तर्राष्ट्रिय न्यायालयको न्यायाधीशका रूपमा सक्रिय हुनुहुन्छ ।
नाभी पिल्लाई महिला हिंसाविरुद्ध र लैङ्गिक समानताका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘इक्वालिटी नाउ’ को सहसंस्थापक हुनुभयो । दक्षिण अफ्रिकाको नयाँ लोकतान्त्रिक संविधानमा जाति, लिङ्ग, धर्म र यौनिक झुकावका आधारमा भेदभाव गर्न नपाइने समानताको धारा समावेश गराउन उहाँको ठुलो योगदान थियो ।









































