२०८३ कात्तिक २३ आइतवार | Sunday, Nov 08 2026

मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक पुनर्निर्माणमा तीन अर्ब लाग्ने

म्याग्दी (बेनी) । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गतको माथिल्लो खण्ड मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक निर्माणको अन्तिम चरणमा पुगेका बेला बाढीपहिरोले ठुलो क्षति गरेको छ ।

असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले ४६ स्थानमा क्षति गर्दा १२ किलोमिटरभन्दा बढी सडक पूर्णरूपमा भत्किएको छ । क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न करिब तीन अर्ब रुपियाँ लाग्ने र पूर्ण रूपमा सहज बनाउन दुईदेखि तीन वर्ष लाग्ने आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभयो ।

मालढुङ्गादेखि कागबेनीसम्मको अधिकांश स्थानमा सडक कालोपत्रे काम सकिएर मुस्ताङ यात्रा सहज हुँदैगएको थियो । मालढुङ्गादेखि मुस्ताङको कागबेनीसम्मको १०२ किलोमिटर दूरीको सडकमध्ये ९० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको थियो । बाँकी रहेको स्थानको सडकमा ढलान गर्ने काम अगाडि बढिरहेको थियो ।

आयोजनाले एक दशक लगाएर निर्माण गरेको सडक मनसुनजन्य विपद्ले फेरि पुरानै अवस्थामा फर्काइदिएको छ । मालढुङ्गादेखि कोरलासम्म पहिरो संरक्षण, सडक फराकिलो, कालोपत्रे र ढालन गरेर २०२ किलोमिटरको दूरीको सडक यात्रा सहज हुँदै थियो । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले सडकलाई क्षत्विक्षत बनाएको छ ।

मालढुङ्गादेखि कोरलासम्मका विभिन्न स्थानहरुमा गरेर करिब १२ किलोमिटरभन्दा बढी सडक पुरै भत्किएको र पुनः नयाँ ट्रयाक निर्माण गर्नुपर्ने अवस्थामा रहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । बाढीपहिरो र नदी कटानका कारण ८० देखि ९० करोड रुपियाँ बराबरको क्षति पुगे पनि सडक पुननिर्माण गर्दा करिब तीन अर्ब रुपियाँभन्दा बढी खर्च लाग्ने आयोजना प्रमुख शर्माले बताउनुभयो ।

सडकमा खसेको पहिरो नियन्त्रण गर्न मात्र करिब एक अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार म्याग्दी खण्डको ३७ किलोमिटर सडकमध्ये विभिन्न स्थानमा गरेर ८ किलोमिटर दूरीको सडक भत्किएको छ । मुस्ताङको १५२ किलोमिटर सडकमध्ये ३ किलोमिटर सडक फेरि पुनःनिर्माण गर्नुपर्ने अवस्थामा पुगेको आयोजना प्रमुख शर्माले बताउनुभयो । कोरिडोरको पर्वत खण्डमा पर्ने १३ किलोमिटर सडकमध्ये एक किलोमिटर सडक भत्किएको छ ।

बेनीदेखि काभ्रोभिरसम्म बाढीपहिरो र नदी कटान गरेर क्षति पुगेका स्थानमा दैनिक रुपमा  १५ वटा ठुला डोजर, १२ वटा ट्रिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्र बनाइएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो ।

भदौं १० गते भोटेकोशीमा आएको विनासकारी बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा बन्द भएको समयमा उत्तरी सिमानास्थित मुस्ताङको कोरला नाकालाई विकल्पका रुपमा प्रयोग गरिएको थियो ।

मनसुनजन्य बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा मालसामान बोकेका सयौं कन्टेनर मुस्ताङमै अलपत्र परेका छन् । बाढीपहिरो र नदी कटानले कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक क्षतिग्रस्त भएपछि कोरला नाका सञ्चालनमा चुनौती थपिएको छ ।