२०८३ असोज ३० शुक्रवार | Friday, Oct 16 2026

मनोवैज्ञानिक प्राथमिक सहायता

बाढी आउँदा सबैभन्दा पहिले हाम्रो ध्यान पानीको भेल, डुबान, उद्धार, राहत र भौतिक क्षतितर्फ जान्छ  । घर बग्यो कि ? सडक खुल्यो कि ? पुल भत्कियो कि ? कति मानिस उद्धार भए ? कति परिवार विस्थापित भए ? यस्ता प्रश्न स्वाभाविक हुन् तर विपत्को अर्को पाटो पनि हुन्छ, त्यो हो ‘मानिसको मनमा परेको चोट  ।’

बाढीले घर, खेत, पशु, व्यवसाय र सम्पत्ति मात्र बगाउँदैन । यसले मानिसको सुरक्षा, आत्मविश्वास, सामाजिक सम्बन्ध, साथै यसले भविष्यका आशा र अपेक्षालाई समेत डगमगाइदिन सक्छ । आफन्त गुमाएका परिवार, बेपत्ता प्रियजनको खबर पर्खिरहेका, घरबारविहीन भएका, विद्यालयबाट फर्किरहेका बालबालिका, ज्येष्ठ नागरिक तथा उद्धारमा खटिएका स्वयंसेवक सबै मानसिक रूपमा प्रभावित हुन सक्छन्  ।

विसं २०८३ भदौ १० मा आएको विनाशकारी बाढीपछि नेपालका विभिन्न जिल्लामा ठुलो जनधनको क्षति भएको छ  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा घर, सडक, पुल, स्वास्थ्य संस्था र जीविकोपार्जनका संरचनामा ठुलो क्षति भएको उल्लेख गरेको छ । विस्थापन, असुरक्षित खानेपानी, स्वास्थ्यसेवा अवरुद्ध हुनुका साथै मानसिक स्वास्थ्य तथा मनोसामाजिक आवश्यकता पनि प्रमुख जोखिम भएकाले जनाएको छ  । यही अवस्थामा हामीले राहतको परिभाषालाई फराकिलो बनाउनु पर्छ । राहत भनेको चामल, दाल, पानी, त्रिपाल र औषधी मात्र होइन । पीडितको कुरा सुन्नु, उहाँहरूको डर बुझ्नु, आत्मसम्मान जोगाउनु र आवश्यक सहयोगसँग जोड्नु पनि राहतकै महत्वपूर्ण हिस्सा हो  ।

मनोवैज्ञानिक सहायता 

मनोवैज्ञानिक प्राथमिक सहायता विपत् वा गम्भीर सङ्कटबाट प्रभावित व्यक्तिलाई दिइने मानवीय, सहयोगात्मक र व्यावहारिक मनोसामाजिक सहायता हो तर उपचार गर्ने प्रक्रिया होइन । यो मानसिक रोगको निदान गर्ने वा जबरजस्ती आफ्नो पीडा सुनाउन लगाउने विधि पनि होइन तर यसको सरल उद्देश्य हो ‘सुरक्षित बनाउने, सुन्ने र आवश्यक सेवासँग जोड्ने ।’ विश्व स्वास्थ्य सङ्गठनका अनुसार मनोवैज्ञानिक प्राथमिक सहायताले सङ्कटमा रहेका व्यक्तिको गरिमा, संस्कृति र क्षमताको सम्मान गर्दै सहयोग गर्ने आधार प्रदान गर्छ ।

बाढीबाट प्रभावित व्यक्तिले डर, आत्तिनु, दुःख, रोइरहनु, निद्रा नलाग्नु, एक्लोपन, भविष्यप्रतिको चिन्ता वा असुरक्षा महसुस गर्न सक्छ । यस्ता प्रतिक्रिया विपत्पछिको स्वाभाविक मानवीय प्रतिक्रिया हुन सक्छन् । अधिकांश मानिसमा समय, सुरक्षा र सामाजिक सहयोग पाएसँगै यस्तो तनाव कम हुँदै जान सक्छ तर केही व्यक्तिमा मानसिक समस्या लामो समयसम्म रहन सक्छ । त्यसैले उहाँहरूलाई समयमै सहयोग आवश्यक हुन्छ । डब्लुएचओले आपत्कालीन अवस्थाका लगभग सबै प्रभावित मानिसले कुनै न कुनै स्तरको मानसिक पीडा अनुभव गर्न सक्ने र केहीमा यसको प्रभाव दीर्घकालीन हुन सक्ने बताएको छ ।

‘मनोवैज्ञानिक प्राथमिक सहायताको मूल आधार सरल छन्, जुन हेर्नु, सुन्नु र जोड्नु । विपत्का बेला प्रभावित व्यक्तिको अवस्था बुझ्ने, उसको कुरा संवेदनशीलतापूर्वक सुन्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने कार्य नै प्रभावकारी मनोसामाजिक सहयोगको पहिलो कदम हो ।’ यसका साथै गोपनीयता, सम्मान, सांस्कृतिक संवेदनशीलता, भेदभावरहित व्यवहार र व्यक्तिको स्वनिर्णयको अधिकारलाई सधैँ सम्मान गर्नु पर्छ । मनोवैज्ञानिक प्राथमिक सहायता भनेको कसैको समस्या तुरुन्तै समाधान गरिदिनु होइन तर कठिन समयमा उसको कुरा सुन्नु, साथ दिनु र आवश्यक सहयोगसम्म पु¥याउनु हो । साथै विपत्को समयमा डर, दुःख, तनाव वा अन्योलमा परेका मानिसको कुरा ध्यानपूर्वक सुन्ने, उसको भावना बुझ्ने र आवश्यक भावनात्मक साथ दिने प्रक्रिया हो । यस्तो सानो साथले प्रभावित व्यक्तिलाई आफू एक्लो छैन भन्ने महसुस गराउँछ र कठिन परिस्थितिको सामना गर्न हिम्मत दिन्छ । समयमै दिइएको यो सहयोगले भविष्यमा देखिन सक्ने मानसिक तथा भावनात्मक समस्याको जोखिमलाई केही हदसम्म कम गर्न पनि मद्दत गर्छ । हामीकहाँ विपत्को समयमा पीडितलाई ‘नरोऊ, सबै ठिक हुन्छ, बलियो बन्नु पर्छ’ भन्न सजिलो हुन्छ तर कहिलेकाहीँ मानिसलाई समाधानभन्दा पहिले कसैले उसको कुरा धैर्यपूर्वक सुनिदिओस् भन्ने चाहना हुन्छ, त्यसैले ‘सुन्नु’ पनि एउटा राहत हो ।

विशेष ध्यान दिने वर्ग

विपत्को मानसिक असर सबैमा समान हुँदैन । बालबालिकाले आफ्नो डर शब्दमा व्यक्त नगर्न सक्छन् । उनीहरूमा निद्राको समस्या, बारम्बार रोइरहने, आमाबाबुसँग टाँसिइरहने वा खेलमा असामान्य परिवर्तन देखिन सक्छ । त्यस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल व्यक्ति र दीर्घरोगीका लागि विस्थापन अझ कठिन हुन सक्छ । परिचित घर, छिमेक, सामाजिक सम्बन्ध र नियमित जीवन गुमाउँदा उनीहरूमा असुरक्षा र एक्लोपन बढ्न सक्छ । त्यसैले राहत शिविरमा खाना र बस्ने ठाउँको व्यवस्थासँगै भावनात्मक सुरक्षा र सामाजिक सम्बन्धको संरक्षण पनि आवश्यक छ ।

परामर्शदाताको भूमिका

विपत्को समयमा सामाजिक कार्यकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । सामाजिक कार्यकर्ता तथा मनोसामाजिक परामर्शदाताले व्यक्ति, परिवार, समुदाय, स्थानीय सरकार, स्वास्थ्य संस्था र गैरसरकारी संस्थाबिच समन्वय गर्न सक्छन् । उनीहरूले जोखिममा रहेका व्यक्तिको पहिचान, परिवार पुनर्मिलन, आवश्यक सेवामा पहुँच, मनोसामाजिक परामर्शमा सिफारिस तथा समुदायमा सामाजिक सहयोगको वातावरण सिर्जना गर्न योगदान दिन सक्छन् ।

विशेष गरी स्थानीय समुदायको संस्कृति र सामाजिक संरचनासँग जोड्न सामाजिक कार्यकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् किनकि विपत्पछि मानिसलाई केवल विशेषज्ञको सेवा मात्र होइन, परिवार, आफन्त, छिमेकी र समुदायको साथ पनि आवश्यक हुन्छ ।

उद्धारकर्ताको मानसिक स्वास्थ्य 

हामी प्रायः पीडितको मात्र मानसिक स्वास्थ्यबारे कुरा गर्छौं तर उद्धारमा खटिएका प्रहरी, सेना, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ता, स्वयंसेवक र स्थानीय नागरिकसमेत गम्भीर  रूपमा र लगातार तनावको सामना गरिरहेका हुन्छन् । उनीहरू पनि थकान, डर, दुःख र मानसिक तनावबाट प्रभावित हुन सक्छन् । त्यसैले ‘उद्धारकर्तालाई पनि सहयोग चाहिन्छ’ भन्ने दृष्टिकोण विपत् व्यवस्थापनको हिस्सा बन्नु पर्छ ।

राहतदेखि पुनर्स्थापनासम्म

मनोवैज्ञानिक प्राथमिक सहायतालाई विपत्को सुरुको केही दिनमा मात्र सीमित गर्नु हुँदैन । विपत्को वास्तविक पुनर्स्थापना  लामो प्रक्रिया हो । घर पुनर्निर्माण हुन सक्छ, सडक बन्न सक्छ, विद्युत् पुनर्जडान हुन सक्छ तर प्रियजन गुमाएका, पीडा वा विस्थापनको मानसिक असर लामो समयसम्म रहन सक्छ ।

हाल बाढी प्रभावित क्षेत्रमा मनोसामाजिक सहयोगका लागि मनोचिकित्सक, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शदाता परिचालन भइरहेको समाचार आएका छन् । यसले विपत् व्यवस्थापनमा मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता स्पष्ट गर्छ  । त्यसैले स्थानीय तहदेखि सङ्घीय तहसम्मको विपत् व्यवस्थापन योजनामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई छुट्टै प्राथमिकताका रूपमा समावेश गर्न आवश्यक छ । मनोवैज्ञानिक प्राथमिक सहायतासम्बन्धी तालिम स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ता, शिक्षक, स्वयंसेवक, सुरक्षाकर्मी र समुदायका अगुवालाई दिन सकिन्छ  ।

बदल्नु पर्छ राहतको अर्थ 

विपत्को समयमा हामीले एउटा कुरा बुझ्न जरुरी छ, ‘मानिस केवल शरीर होइन, मन र सामाजिक सम्बन्धसहितको व्यक्ति हो । भोक लागेको मानिसलाई खाना चाहिन्छ । घाइतेलाई उपचार चाहिन्छ । घर गुमाएकालाई आश्रय चाहिन्छ तर आफन्त गुमाएको मानिसलाई शोक व्यक्त गर्ने ठाउँ पनि चाहिन्छ । डराएको बालबालिकालाई सुरक्षित महसुस गराउने उचित वातावरण चाहिन्छ साथै बेपत्ता परिवारजनको खबर पर्खिरहेको परिवारलाई सही सूचना र भावनात्मक साथ र सहयोग चाहिन्छ ।’

त्यसैले अब हाम्रो राहत प्रणालीले एउटा नयाँ प्रश्न सोध्नु पर्छ ‘तपाईंलाई के चाहिन्छ ?’ मात्र होइन, ‘तपाईं अहिले कस्तो महसुस गरिरहनुभएको छ ?’ भन्ने प्रश्न महत्वपूर्ण रहन्छ  ।

बाढीको पानी विस्तारै घट्दै जान्छ । सडक र पुल फेरि बन्न सक्छन् । घर पनि पुनर्निर्माण हुन सक्छन् तर मानिसको मनमा परेको चोटलाई निको पार्न समय, संवेदना र निरन्तर साथ चाहिन्छ । विपत्को समयमा एउटा हातले राहतको सामग्री दिनु पर्छ भने अर्को हातले आशा दिनु पर्छ । यही मानवीय भावनाको व्यावहारिक रूप हो ।

वास्तवमा यी र यस्ता खालका विपत्मा नेपाल सरकारको स्थानीय तहदेखि प्रदेश सरकार हुँदै सङ्घीय तहसम्म मनोसामाजिक परामर्शलाई प्रभावकारी ढङ्गले अघि बढाउन आवश्यक देखिन्छ । मनोवैज्ञानिक प्राथमिक सहायता आज बाढीपीडितलाई हामीले केवल राहत होइन, सुन्ने कान, साथ दिने हात र सुरक्षित भविष्यप्रतिको आशा दिन आवश्यक छ किनकि बाढीले घर भत्काउँछ तर संवेदनाले मानिसलाई फेरि उभिन सक्ने बनाउँछ ।