२०८३ असोज ३० शुक्रवार | Friday, Oct 16 2026

बिपी र लाल बाबा

मेरो संस्मरणात्मक किताब ‘बिपी र विद्रोहका ती दिन’ को विमोचन र विमर्श काठमाडौँमा भएको खबर गृहजिल्ला इलामतिर पुगेपछि साथीभाइ र शुभेच्छुकहरूको फोन आउन थाल्यो, ‘यता चाहिँ कहिले ?’ घरायसी व्यावहारिक व्यस्तताले लगत्तै उता जान अनुकूल थिएन । समय पर्‍यो उस्तै– मेची राजमार्गको राजदुवाली सडकखण्ड टुट्नाले इलाम सदरमुकाम दुर्गम भएको ।

साथीहरूको दबाब थामिनसक्नु हुन थालेपछि दुई/तीन दिनलाई भनेर बाटो लागियो । यसरी साथीहरूको आग्रहमा हतार हतार इलाम सदरमुकाममा ‘गृह विमोचन तथा विमर्श’ भयो पुस्तककारमा सार्वजनिक भयो मेरो प्रयासको । सुखद कुरा के भने कार्यक्रमको आयोजना इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानले गरेकाले छोटो समयको सूचनामा पनि शुभेच्छुकहरूको भव्य उपस्थितिले कार्यक्रम रमाइलोका साथ सम्पन्न भयो । अग्रजहरूको आशीर्वाद र साथीहरूको बधाई हाताहाती थाप्न पाइयो । आफ्ना विविध क्रियाकलापका कारण इलाम नगरपालिका अन्तर्गत रहेको यो इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान पछिल्लो समय इलामको प्रतिनिधि संस्था बन्दै गइरहेको छ । यसका पदाधिकारी साथीहरूलाई साधुवादका साथै शुभकामना ।

त्यस कार्यक्रममा सहभागी मेरा लेखक मित्र डा. देवी क्षेत्री दुलालले मलाई भन्नुभयो, “बिपी र लाल बाबाको प्रसङ्ग त आएनछ नि यसमा । बिपीका बारेमा लेख्दा त्यो चाहिँ छुटाउनु हुने थिएन ।” दुलालजीले यसरी सम्झाउँदा बिस्तारै त्यो प्रसङ्ग सम्झनामा आयो तर झ्यार झ्यार हुँदै उहिलेको श्यामस्वेत टेलिभिजनमा दिल्ली स्टेसन देखिने जस्तो । स्थानीय पत्रिकामा २०४८ सालतिर मेरो एउटा लेख प्रकाशित भएको थियो त्यस सम्बन्धमा र त्यही पढेका रहेछन् दुलालजीले ।

हजुरले तीमध्ये कसैको नाम ठेगाना बताइदिए हामी तिनलाई भेटेर सिफारिस लिएर आउँछौँ । अनि बाबाले बिपीको नाम दिएछन् । बिपीको नाम सुन्दा उनीहरू पनि खुसी भए किनभने उनीहरू बिपीलाई जान्दथे । यसरी कोलकाताबाट उनीहरू सारनाथ आइपुगेका रहेछन् ।

मैले पटक पटक गरेर केही समय बिपीको सान्निध्य पाएँ जसका लागि म आफूलाई भाग्यमानी मान्छु । एकप्रकारले मेरो जीवनको सार्थकता हो त्यो उहाँसँगको सामिप्य । सारनाथमा उहाँलाई भेट्न अनेक थरीका मानिस आउँथे । धेरै भारतीय र केही तेस्रो मुलुकका समेत । नेपालीको त कुरै भएन, लुकीछिपी पनि पुग्थे । यसरी भेट्न आउने एकाधका बारेमा मैले उक्त किताबमा चर्चा गरेको पनि छु तर पहिलेका फुटकर लेखहरूमा थप अरू केहीका बारेमा पनि चर्चा गरेको थिएँ । उसबेला स्मृति अलिक ताजै थियो ।

बिपीलाई भेट्न आउने उहाँका समकालीन साथीभाइ उति देखिएन । उनीहरूमध्ये धेरै जसो सत्तामा थिए र तिनीहरूसँग बिपीको ‘वैचारिक’ मतभेद थियो । समाजवादी खास गरी युवा आउँथे बिपीसँग आशीर्वाद थाप्न र समसामयिक राजनीतिका बारेमा निर्देशन लिन । त्यहाँ पुग्ने सबै नै कुनै न कुनै कुराले बिपीबाट प्रभावित भएकाहरू हुन्थे । उनीहरूको अनुहारमा तीव्र उत्सुकता देखिन्थ्यो– बिपीलाई नजिकबाट भेट्ने र उहाँका कुरा सुन्ने । भेटघाट सकेर फर्कदा तिनीहरूको मुखमुद्रामा झल्किने सन्तुष्टि विशेष हुन्थ्यो ।

बिपीसँग राजनीति र साहित्यका कुरा सुन्न आउनु स्वाभाविक हो; सँगसँगै कला, गीत सङ्गीत र सिनेमासम्मका कुरा गर्नेहरू पनि हुन्थे । सबै विषयमा बिपीको दृष्टिकोण आलोचनात्मक हुन्थ्यो । उहाँको ज्ञानको गहिराइ देखेर सबै चकित हुन्थे । उहाँ सर्वज्ञ प्रतीत हुनुहुन्थ्यो तर मलाई दुःख केमा छ भने मैले त्यो समय र उहाँको सान्निध्यको यथोचित उपयोग गर्न सकिन । मात्रै दैनिकी लेख्ने गरेको भए पनि आज त्यसको महìव ठुलो हुन्थ्यो ।

अँ, मैले प्रायः बिर्सिसकेको र दुलालजीले कोट्याएको त्यो प्रसङ्गतिर लागौँ । यो सन् १९७४ तिरको एक बिहानको कुरा हो । बिपीलाई भेट्न बर्माबाट तीन/चार जना युवा आएका थिए सारनाथमा । त्यसमा एक महिला पनि थिइन्, ती आङ सान सुकी नै थिइन् जस्तो लाग्छ । उनी राजनीतिमा आइसकेकी थिइनन् । उनीहरूले आफ्नो शिर पूरै अगाडि झुकाएर बिपीलाई गरेको अभिवादनमा उनीहरूको उत्कृष्ट तथा सम्भ्रान्त सांस्कृतिक परम्परा झल्किन्थ्यो । बिपीले पनि बडो स्नेहसाथ तिनीहरूसँग कुरा गर्नुभएको थियो । सुकीका पिता आङ सान बर्माका प्रमुख स्वतन्त्रता सेनानी र लोकप्रिय राष्ट्रवादी नेता थिए । बिपी पनि दक्षिण एसियामा उदीयमान समाजवादी नेता भएकाले यी दुईको राम्रो सम्बन्ध थियो ।

बिपीका अनुसार त्यसबेला भारतमा समाजवादीको सङ्गठन राम्रो थियो । त्यहाँ आमनिर्वाचनको तयारी जस्तो चल्दै थियो । निर्वाचन भएमा समाजवादी सरकारमा आउन सक्छन् भन्ने आकलन पनि थियो । डा. राममनोहर लोहियासँगको छलफलपछि बर्मामा एसियाली समाजवादी सम्मेलन गराउने विषयमा छलफल गर्न सन् १९४७ तिर बिपी पहिलो पटक बर्मा जाँदा आङ सानको भर्खर हत्या भएको थियो । समाजवादीहरू सरकारमा थिए, भलै सेनाको सक्रियता थियो । उ नू प्रधानमन्त्री थिए । ब स्वे रक्षा र गृहमन्त्री र ने विन सेना प्रमुख । बिपीले सबैसँग भेटघाट र विमर्श गर्नुभएको थियो । आफूहरू कम्युनिस्टहरूसँग तीव्रताका साथ भिडिरहनु परेकाले आफ्नो देशमा तत्काल समाजवादी सम्मेलन गराउन असमर्थ रहेको जवाफ तिनले दिएको कुरा बिपीले आत्मवृत्तान्तमा पनि उल्लेख गर्नुभएको छ । त्यही मौका छोपेर बिपीले बर्मेली सरकारमा रहेका ती साथीहरूसँग नेपालमा राणा शासन हटाएर प्रजातन्त्र स्थापनार्थ गरिने क्रान्तिका लागि हतियारको माग गर्नुभएको थियो । पछि उनीहरूले दिएका हतियार नै २००७ सालको क्रान्तिमा प्रयोगमा आएका थिए ।

बिपीले प्रधानमन्त्रीका रूपमा पनि बर्माको भ्रमण गर्नुभएको थियो । उहाँलाई त्यहाँ साह्रै भव्य स्वागत भएको थियो । बिपीले ने विनलाई ‘मलाई त साह्रै ठुलो सम्मान दियौँ त’ भन्दा ने विनले ‘यो हाम्रो साझा स्वार्थको कुरा हो । हामी साना राष्ट्रले एकअर्कालाई सम्मान गर्‍यौँ भने पो ठुलाले हामीलाई इज्जत गर्छन् नत्र त हेप्छन् नि’ भनेका थिए रे । २०१६ सालमा बिपी भारतपछि चीनको भ्रमणमा जाँदा बर्मा भएर जानुभएको थियो ।

सन् १९६० को दशकमा सुकीकी आमा खिन की भारत र नेपालका लागि बर्माकी राजदूत नियुक्त भएकी थिइन् । सोही क्रममा सन् १९६२ मा सुकी पहिलो पटक नेपाल आएकी थिइन् । त्यसबेला बिपी जेलमा हुनुहुन्थ्यो । दशकपछि १९७३ मा आफ्ना पतिका साथ उनी फेरि नेपाल आएर निकै समय बसेकी थिइन् । त्यस समय बिपी निर्वासनमा हुनुहुन्थ्यो । भनिन्छ सुकीको कोइराला परिवारसँग कसिलो सम्बन्ध छ । पछि बर्मामा सुकीले लिएको मेलमिलापको राजनीतिक नीति बिपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिबाट प्रेरित थियो भनिन्छ । उनले ‘नेपाल भ्रमण गरौँ’ नामक पुस्तक पनि लेखेकी छन् ।

पछि सन् २०१४ मा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा पनि सुकी नेपाल आएकी थिइन् । बिपी कोइरालाको शतवार्षिकीका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा ‘सामाजिक लोकतन्त्रको सान्दर्भिकता’ विषयमा उनी मुख्य वक्ता थिइन् । उनले नेपाली संसद् (संविधान सभा) लाई सम्बोधन गर्नुका साथै लुम्बिनीको भ्रमणसमेत गरेकी थिइन् ।

ती बर्मेली युवा बिदा भइसकेपछि बिपीले हामीलाई किञ्चित रमाइलो गरी उनीहरू आउनाको कारण बताउनुभएको थियो । सन् १९६९ तिर बिपी कोलकाता जानुभएको रहेछ । भारतका सर्वोदयी नेता तथा बिपीका निकटका शुभचिन्तक जयप्रकाश नारायण पनि कोलकाता पुगेका रहेछन् । एक दिन जयप्रकाशले बिपीलाई ‘हिँड मेरा गुरु भेट्न जाऊँ’ भनेर कोलकाताको कुनै ठाउँ (अहिले नाम सम्झनामा आएन) लिएर गएछन् । त्यहाँ एक सन्त बस्दा रहेछन् लाल बाबा नामले ख्याति कमाएका ।

बाबाले जयप्रकाशजी र बिपीलाई भव्य स्वागतका साथ आतिथ्य गरेछन् । बिपीसँग पनि भलाकुसारी भयो । बिदा हुन लाग्दा जेपीलाई ‘जरा रुको’ भन्दै यसो हावामा हात घुमाएर एउटा चमचमाउँदो नयाँ घडी सिर्जना गरेर जेपीको हातमा राखिदिएछन् । जेपीले सभक्ति त्यस घडीलाई लिएर आफ्नो नाडीमा बाँध्दै गर्दा बाबाले ‘लाओ तो इस मे तुमहारा नाम भी लगादूँ’ भनेर जेपीबाट घडी लिएछन् र पुनः हावामा एक पटक घुमाएछन् । अबको पालामा त्यो घडीको एक भागमा जेपी भन्ने दुई अक्षर अङ्कित भएछ ।

ती बाबा केही दुसाध्य रोगको उपचार गर्छन् भन्ने सुनेर बर्माबाट ती मानिसहरू लाल बाबाकहाँ कोलकाता पुगेछन् । तीमध्ये एकलाई दमको बिमार (जस्तो लाग्छ) भएको रहेछ । लालबाबाले तिनलाई भनेछन्, “यसरी जोसुकैको उपचार त म गर्दिन । तिमीहरू बर्मादेखि आइहलेछाँै, यहाँ मेरा चेलामध्ये कसैले सिफारिस ग¥यो भने म तिमीहरूको इलाज गरिदिउँला ।”

बर्मेली टोलीलाई पर्‍यो आपत्, तिनका चेला कता खोज्ने ? विनम्रतासाथ भनेछन्, “यहाँ हजुरका चेला को कहाँ छन् हामीलाई त थाहा छैन । हजुरले तीमध्ये कसैको नाम ठेगाना बताइदिए हामी तिनलाई भेटेर सिफारिस लिएर आउँछौँ । अनि बाबाले बिपीको नाम दिएछन् । बिपीको नाम सुन्दा उनीहरू पनि खुसी भए किनभने उनीहरू बिपीलाई जान्दथे । यसरी कोलकाताबाट उनीहरू सारनाथ आइपुगेका रहेछन् ।

बिपीले चिठी लेखिदिनुभयो । त्यो लिएर उनीहरू कोलकाता फर्किए । बिपीका अनुसार जेपीका साथ एक पटक उनीकहाँ गए, यता लाल बाबासँग उहाँको कुनै सम्पर्कसमेत भएको थिएन । उहाँ भन्नुहुन्थ्यो, “उनले मलाई कसरी आफ्नो चेलो भने उनै जानून् । त्यसपछि ती बर्मेलीलाई ती लाल बाबाले कसरी लिए, त्यो भने थाहा भएन ।”