२०८३ भदौ ८ सोमवार | Monday, Aug 24 2026

दैविशक्ति सँग जाेडिने क्रिया याेग प्रशिक्षण पशुपतिमा

काठमाडौं । मानव जीवनका लागि अति उपयोगी तथा आत्मसाक्षात्कार र मस्तिष्कको उर्जा प्रवाहलाई व्यवस्थित गरी पूर्ण रुपमा शान्ति प्राप्त गर्ने विधिलाइ सर्बब्यापी गराउने उद्देश्यले शनिबार पशुपति क्षेत्र उमाकुण्डमा योग शिविर सम्पन्न भएको छ ।

सनातन जीवन यात्रा तथा श्री स्वामिनारायण सेवा संस्थाको समन्वयमा योग गुरु श्री गोपाल लामिछानेले विभिन्न साधकहरुको सहभागितामा प्रशिक्षित गराउनु भएको हो ।

दैवी आवाज र प्रकाशसँग जोडिने ध्यान विधि, यसले शरीरमा अड्किएको ऊर्जालाई मुक्त गर्ने, थकान हटाउँने र ध्यानमा लामो समयसम्म स्थिर बस्न मद्दत गर्दछ ।

मनको चञ्चलतालाई रोकेर गहिरो मानसिक शान्ति प्रदान र श्वासको गतिलाई स्वाभाविक रूपमा ढिलो बनाउँछ । यसले साधकको चेतनालाई भौतिक संसारबाट हटाएर भित्री आनन्द र परमात्माको आभासमा लीन गराउँछ । साधक लामिछानेले प्रशिक्षित गराउनु भएको थियो ।

क्रिया योग मुख्य रूपमा मनलाई शान्त पार्ने, एकाग्रता बढाउने र शरीरलाई उच्च ऊर्जाको लागि तयार पार्ने अभ्यासहरू हुन् । परमहंस योगानन्दको परम्परा अनुसार, मुख्य क्रिया योगको दीक्षा लिनुअघि केही महिना वा वर्षसम्म यी प्रारम्भिक विधिहरूको नियमित अभ्यास गर्नुपर्छ।

ध्यान विधि अनुसार यसलाई बिहान र बेलुकाको समयमा खाली पेटमा कम्तीमा १५ देखि ३० मिनेट नियमित अभ्यास गर्नुपर्छ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत धार्मिक अभियन्ता, पत्रकार, नागरिक अगुवाहरुको सहभागिता रहेको थियो । सहभागिको रुपमा सनातन जीवन यात्राका संयोजक तथा साधक शंकरप्रसाद पाण्डे, अग्रज पत्रकार कुमारप्रसाद ओझा, छायाँकार छविराम पराजुली, सञ्चारग्रामकी प्रबन्ध निर्देशक शिक्षा थपलिया, प्रेस काउन्सिलका मदन सिलवाल लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।
क्रिया योग सम्बन्धी थप जानकारी निम्नअनुसार उल्लेख गरिएको छ ।

प्राचीन र उन्नत ध्यान तथा प्राणायमको प्रणाली क्रिया येग, जसले आध्यात्मिक उन्नतिलाई तीव्र बनाउन र आत्मसाक्षात्कार प्राप्त गर्न मद्दत गर्दछ ।

यो मेरुदण्ड र मस्तिष्कको ऊर्जा प्रवाहलाई व्यवस्थित गर्ने र मनलाई पूर्ण रूपमा शान्त पार्ने एक वैज्ञानिक पद्धति हो ।

क्रिया योगले विशेष श्वासप्रश्वास विधिको माध्यमबाट प्राण ऊर्जालाई मेरुदण्ड र यसका छ वटा चक्रहरूमा माथि र तल प्रवाह गर्दछ ।

मेरुदण्डमा ऊर्जाको यो प्रवाहले श्वासप्रश्वास र मुटुको गतिलाई स्वाभाविक रूपमा ढिलो बनाउँछ, जसले गर्दा मन तुरुन्तै शान्त र विचारशून्य अवस्थामा पुग्छ ।

यो अभ्यासले प्राण ऊर्जालाई बाहिरी संसार र पाँच ज्ञानेन्द्रियहरूबाट हटाएर भित्री आत्मातर्फ आकर्षित गर्दछ ।

महर्षि पतञ्जलिको योगसूत्र अनुसार प्रारम्भिक क्रिया योगमा तीन कुराहरू अनिवार्य मानिएका छन् । तप, आत्म, अनुशासन, शुद्धिकरण र आध्यात्मिक प्रयास । स्वाध्याय, आत्मचिन्तन र पवित्र आध्यात्मिक ग्रन्थहरूको अध्ययन । ईश्वर प्राणिधान, अहंकारलाई त्यागेर उच्च दैवी शक्ति वा ईश्वरमा पूर्ण समर्पण हुनु ।

क्रिया योगले मानसिक शान्ति, तनाव, चिन्ता र मनको चञ्चलतालाई पूर्ण रूपमा कम गर्छ । कार्यक्षमतामा वृद्धि, एकाग्रता र स्मरणशक्ति बढाएर दैनिक कार्यहरूमा दक्षता ल्याउँछ ।

शारीरिक स्वास्थ्य, शरीरका कोषहरूलाई प्राण ऊर्जाले रिचार्ज गरी स्वस्थ र ऊर्जावान् राख्न मद्दत गर्छ । आत्मिक रूपान्तरण, रिस, राग, र अहम् जस्ता विकारहरू हटाई आन्तरिक आनन्द र प्रेमको विकास गर्छ ।