२०८३ भदौ ८ सोमवार | Monday, Aug 24 2026

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल: आधिकारिक सूचना अधिकारी खटाइने

काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक बिटमा कार्यरत सञ्चारकर्मीसँग छलफल गर्दै सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभएको छ।

मङ्गलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पोखरेलले सरोकारवालाबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा पनि यस्ता संवादलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले अन्तरमन्त्रालय समन्वयमार्फत आधिकारिक सूचना दिने व्यक्तिको व्यवस्था गरी सूचना प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाइने जानकारी दिनुभयो।

मन्त्री पोखरेलले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले अल्पकालीन तथा दीर्घकालीन रणनीतिअनुसार महत्त्वपूर्ण कामको थालनी गरिसकेकोसमेत उल्लेख गर्नुभयो।

छलफलका क्रममा सरकारी सूचना प्रवाह सुधार, पत्रकारले सूचना सङ्कलनका क्रममा भोगिरहेका चुनौती तथा सरकार र सञ्चारमाध्यमबिचको समन्वय सुदृढ बनाउने विषयमा विचार–विमर्श भएको थियो। सहभागी पत्रकारले सरकारी सूचनामा सहज पहुँच सुनिश्चित गर्न, सूचना प्रवाहलाई थप सहजीकरण गर्न तथा सरकारका निर्णय र समसामयिक विषयमा नियमित अन्तरसंवादको वातावरण बनाउन सुझाव दिएका थिए।

छलफलमा शिक्षामन्त्रीका सल्लाहकारद्वय शैलेन्द्र झा र सरोज गौतमसहित मन्त्रालयका उच्च अधिकारीका साथै विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा राजनीतिक बिट हेर्ने पत्रकारको उपस्थिति रहेको थियो।