काठमाडौँ । विश्व हिन्दु महासँघकाे शुभेच्छुक संस्था विश्व हिन्दू युवा संघ राष्ट्रिय तथा अन्तरराष्ट्रिय समितिले यही वैशाख २८ गतेदेखि जेठ ७ गतेसम्म काठमाडाैंकाे बत्तीसपुतली स्थित गाेरक्ष हाटबजारमा श्री शिव महापुराण तथा गौकृपा कथा २०८२ आयोजना गर्ने भएको छ ।

समितिले काठमाडाैमा आयोजना गरेको एक पत्रकार सम्मेलनमा संघका अध्यक्ष ऋषिकेशजङ्ग शाहले वैशाख २८ गते कलश यात्रा र समुद्घाटन गरी कथा वाचन भने वैशाख २९ गतेदेखि हुने जानकारी दिएका हुन । महायज्ञ गोरक्ष हाटबजार राम मन्दिर मार्ग बत्तिसपुतलीमा आयोजना हुने उक्त कार्यक्रममा देशभरका सनातन हिन्दु धर्मावलम्बीहरूकाे उल्लेख्य सहभागिता हुने जनाइएकाे छ ।
नेपालको धार्मिक, सांस्कृतिक महत्वका हिमवत्खण्ड, मानसखण्डलगायतका कथा पनि महायज्ञमा सुनाइने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो । स्थानीय गाईको दूध, दही, घ्यू, गोबर, गहुँतलगायत गोरसबाट गरिने उपचार पद्धति, यसको महत्वलगायत विषयमा महायज्ञमा जानकारी गराइने पशुपति गिरीले बताए । महायज्ञबाट उठ्ने रकमको दुरुपयोग भइरहेका बेला समितिले भने यसका सदुपयोग गर्ने प्रतिबद्धता पनि कार्यक्रममा जनाइएको थियो ।

महायज्ञमा हवन, चण्डी, रुद्री, वेदपाठ, शिवपुराण पाठ पारायणलगायत विधिपूर्वक गरिने वाचक प्रमोद पौडेलले जानकारी दिए । गोरक्षनाथको महत्वका विषयमा पनि कार्यक्रममा प्रकाश पारिने जनाइएको छ । वैदिक दर्शन, तन्त्र मन्त्रलगायत विषयमा पनि जानकारी दिइने समितिका केन्द्रीय सदस्य उत्तमकुमार बज्राचार्यले बताए ।
नेपाल साँस्कृनिक पत्रकार समाजका केन्द्रिय अध्यक्ष पुर्ण प्रसाद मिश्रले यस्ता धार्मिक अनुष्ठानहरू वैदिक सनातन सस्कृतिहरुको संरक्षणमा टेवा पुर्याउन, समाज सकारात्मक संदेश छर्न केन्द्रित हुनुपर्ने भनाई राखेका थिए । सो अवसरमा नेपालका स्थानीय गाईको गोमुत्र, गोबरबाट उत्पादन गरिएका आयुर्वेदिक महत्वका विभिन्न सामाग्रीहरुको समेत प्रर्दशन गरिएको थियो । युवा संघ अध्यक्ष शाहले गोरक्षा हाट बजारमा यस्ता आयुर्वेदिक महत्वका सामग्रीका साथै अर्गानिक तरकारी, फलफूलहरु बिक्री गर्ने गरेको बताए ।







































