२०८३ वैशाख ३ बिहीवार | Thursday, Apr 16 2026

वकिल, पत्रकार, नागरिक समाज, मानवअधिकारवादी संघसंस्था र अभियन्ताहरूकाे समेत आन्दाेलनमा ऐक्यबद्धता

काठमाडौं । समसामयिक राजनीति र देश काल परिस्थितिका सम्बन्धमा बिहीबार काठमाडौंमा सम्पन्न राष्ट्रिय जीवनका विविध क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूको भेलाले जनताले उठाएका शान्तिपूर्ण आवाजप्रति ऐक्यबद्धता प्रकट गर्दै पाँचबुँदे अपिल जारी गरेको छ ।

भेलाले एक अपिल जारी गर्दै वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरू र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजप्रति ऐक्यबद्धता प्रकट गरेको जनाएको हो । यसै गरी आन्दोलनका स्वरूपहरूलाई पूर्ण रूपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन अपिल गर्दै भेलाले आन्दोलनलाई अनियन्त्रित हुन नदिन यथाशीघ्र वार्ता र सहमति, वार्ता र संंवादका लागि आह्वान गर्न सरकारलाई पनि अपिल गरेको छ ।

भाष्करराज राजकर्णिकार, दिरेकलाल श्रेष्ठ, युवराज घिमिरे, डा. उत्तमकृष्ण श्रेष्ठ र मनीषा कोइरालालगायतको सहभागिता रहेको भेलाले जारी गरेको अपिलको चौथो र पाँचौं बुँदामा भनिएको छ– ‘जनताका शान्तिपूर्ण आवाज र मागहरूविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्ट अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बलसमेत प्रयोग नगर्न अनुरोध गर्दछौं । साथै, यस सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, पर्यवेक्षकहरूलाई निष्पक्ष तथा विवेकपूर्ण अनुगमनका लागि हार्दिक अपिल गर्दछौं ।’

भेलामा भवानी राणा, कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, अनिल जोशी, राजाराज गिरी, किशोर थापा, दीपक गिरी, भीम उदास, किशोर प्रधान, सुरेन्द्रवीर मालाकार, आशिष शेरचन, निर्मलराज पौडेल, मधुसूदन थापा, श्याम कँडेल, टीकाराम यात्री, जीवराम भण्डारी, दुर्गाबहादुर थापा, ध्रुवनारायण श्रेष्ठ, जैसन वैद्य, दिनेश श्रेष्ठ, यज्ञराज अधिकारी, विक्रम पाण्डे, गोपाल तिवारी, एजी शेर्पा, स्वागत नेपाल र सर्वेन्द्र खनालको पनि सहभागिता रहेको थियो ।